९ दिनदेखि बन्द रिडी–रुद्रबेनी–वामी सडक सुचारु गर्न सेना परिचालन
गुल्मी,कात्तिक १२ । नौं दिनदेखि बन्द गुल्मी जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक सुचारु गर्न नेपाली सेना परिचालन भएको छ । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–२ को साँघुरेमा अबरुद्ध रहेको सडक खुलाउन नसकेपछि कालिगण्डकी करिडोर बाटो निमार्ण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मको सयुक्त टोलि परिचालन भएको हो ।
कात्तिक महिनामा परेको बेमौसमी वर्षातले सडकका बिभिन्न स्थनमा ठूलो पहिरो खसेको थियो । अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो ।
पहिरोको बिचमा ठूला ठूला ढुंगाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएपछि नेपाली सेनाले बिष्फोटन गरि सडक खुलाउने प्रयास गरिरहेको छ । सेनाले शुक्रवार दिनभर ठूला ढुंगालाई बिष्फोटन गरेको छ । तर ढुंगाहरु सडकमै रहेकाले शनिवार दिउसो सम्म खुल्न सक्ने गरि काम भइरहेको सेनाले जनाएको छ । डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रा पौडेलले बताए ।
सडक अबरुद्ध भएपछि शान्तीपुर, चोरकाटे,बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन् । केहि सवारी साधान सदरमुकाम तम्घास हुँदै वामिटक्सारबाट बुर्तिबाङ तर्फ जाने गरेका छन् । जिल्लाको रिडी–रुद्रबेनी–वामी सडक अति व्यस्त सडक हो । सडक खुलेको वषौं भएपनि अझैपनि सडक कच्ची र निकै जोखिम रहेको छ ।