सुनको मूल्य तोलामा चार सयले घट्यो



काठमाडौँ,कात्तिक १२ । सुनको मूल्य तोलामा चार सयले घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला चार सयले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । सार्वजनिक तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।

यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्