१८ औं हस्तकला व्यापार मेला मंसिर ३ गतेदेखि



काठमाडौं,कात्तिक १२ । नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । 

महासंघले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिंदै आएको मेला यसवर्ष हायात रिजेन्सी होटल, बौद्धमा आयोजना गरिने जानकारी दिएको छ ।

 कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ  ।

मेलाको उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नुहुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिए ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करीब १२० ओटा स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुई ओटा विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने कला प्रतियोगिताका संयोजक राजमान वज्राचार्यले बताए ।
 
नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबर्द्धन, नेपाली उद्यमी व्यवसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यवसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता / उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु  मेलाको मुख्य उद्देश्य रहेको आयोजकले बताएको छ ।

त्यस्तै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रेता तथा विक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी व्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृति बीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।

मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्