प्रचण्डद्वारा जनयुद्धका सहिद परिवारजनसँग भेटघाट
चितवन,कात्तिक १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध ताकाका सहिद परिवारजनसँग भेटघाट गरेका छन् । बुधबार दिउँसो जनयुद्धका क्रममा सहादत प्राप्त गरेका चितवनका सहिदका परिवारजनसँग भेटघाट तथा छलफल गरेका हुन। अध्यक्ष प्रचण्डले सहिद शारदा श्रेष्ठको घर भरतपुर न.पा.–१५, फुलबारीमा भेटघाट गरि सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई वर्तमान सरकारले प्याकेजमार्फत राहतको व्यवस्था गर्ने तयारी गरेको बताए । अध्यक्षले सहिदले देखेको सपना पुरा नभएकाले त्यसका लागि आफूहरु अनवरत लडिरहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘म यहि क्षेत्रको जनप्रतिनिधि भएकाले यस क्षेत्रको विकास निर्माणका लागि लागि परेको छु । यसका लागि तपाईंहरुको सबैको साथ, सहयोग सहभागिताको अपेक्षा गरेको छु ।’ अध्यक्षलाई सहिद परिवारले भने पार्टीलाई अझै जनमुखी बनाउन र जनताको पक्षमा थप डटेर लाग्न सुझाब दिएका थिए ।
अध्यक्षलाई आफ्नो घरआँगनमा भेटेपछि सहिद परिवारजनहरु उत्साहित भएको सहिद परिवारजन अन्जनकुमार तिमिल्सिना ‘संघर्ष’ले बताए । जनयुद्धका क्रममा तिमिल्सिनाका दुई/दुई जना भाइहरु शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिनाले सहादत प्राप्त गरेका थिए । सो अवसरमा महान् सहिदहरु शारदा श्रेष्ठ, ऋषि रेग्मी, शिवहरि तिमिल्सिना, रामकृष्ण तिमिल्सिना लगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको बताइएको छ ।