गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान गर्न छिटै सम्झौता



काठमाडौं,कात्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ । प्राधिकरणको बोर्ड बैठकले क्यालिब्रेशन उडानका लागि सोमवार एएआईलाई पत्राचार गरेसँगै अबको १० दिनभित्रमा उडानका लागि सम्झौता हुने भएको हो ।

प्राधिकरणका नवनियुक्त महानिर्देशक राजकुमार क्षत्रीले प्राधिकरणको बिहीवार बसेको बोर्ड बैठकले निर्णय गरेको र सोमवार नै सम्झौताका लागि पत्राचार गरिएको जानकारी दिए । ‘भारतलाई पत्र पठाइएको छ, बिहीवारको बैठकले निर्णय गरेको र सोमवार भारतको सम्बद्ध निकायलाई पठाइएको छ, कम्पनीले ८÷१० दिनमा प्राधिकरणसँग सम्झौता गर्नेछ,’ उनले भने, ‘त्यसको १ महीनाभित्र नै क्यालिब्रेशन उडान गर्नेगरी गृहकार्य गरिएको छ ।’

क्यालिब्रेशन प्mलाइट (उडान) रनवे सही छ, कि छैन, लाइटिङ प्रणाली, हवाई सञ्चार अर्थात् टावर कम्युनिकेशन, ल्यान्डिङलगायतमा कुनै समस्या छ कि छैन र राडरहरूको पोइन्ट स्पष्ट देखिन्छ कि देखिँदैन भन्नेलगायत विषय पत्ता लगाउन गरिन्छ । यस्तो उडान सफल भएपछि त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प तयार हुनेछ । थाइ एरोसँग गरिएको क्यालिब्रेशन उडानको सहमति रद्द गर्दै प्राधिकरणले भारतको उक्त निकायसँग सम्झौता गर्दै छ ।

यसैगरी, उनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई सञ्चालनयोग्य बनाएर प्राधिकरणबाट बिदा हुने योजनामा रहेको बताए । हाल निर्माणको अन्तिम चरणमा पुगी सञ्चालन गर्न सकिने उक्त विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका साथसाथै केही अन्य विमानस्थलको स्तरोन्नति पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधारदेखि अर्काे ठूलो आयोजना पोखरा विमानस्थलको रिठेपानीको डाँडा कटानसम्मको कार्यलाई ठोस रूप दिने उनको योजना छ ।

प्राधिकरणको चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पारित भएको छैन । यो वर्ष प्राधिकरणले रू. ४१ अर्ब ७६ करोडको बजेट प्रस्ताव गरेको छ ।

१२ गते बस्ने प्राधिकरणको बोर्ड बैठकले उक्त बजेट पनि पारित गर्ने उनले बताए । २०७४ माघ १६ गते क्षत्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको महाप्रबन्धकमा नियुक्त भएका थिए ।

२०७६ चैतदेखि २०७८ असारसम्ममा प्राधिकरणले कोभिडकै कारण रू. १२ अर्ब बराबरको आम्दानी गुमाएको थियो । हवाई सेवाबाट हुने आम्दानीमा निर्भर प्राधिकरणको घटेको आम्दानीलाई पुनः बढाउनु, प्राधिकरणको स्रोतबाट हुने विकास निर्माणको प्रभावित कार्य र आन्तरिक विमानस्थलको विकास तथा स्तरोन्नतिका कार्यलाई दिशा दिनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्