तिहार नजिकिएसँगै भाइमसलाको व्यापार बढ्यो
काठमाडौं,कात्तिक १० । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ । व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए । तर, यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ । सामान्य अवस्थाको तुलनामा तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ ।
नेपालमा तिहारको समयमा मात्रै करीब ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् ।
यसपटक भाइमसलाको मूल्यमा समेत केही वृद्धि भएको पाइएको छ । संघका अनुसार छोकडाको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँबाट बढेर २ सय ५० रुपैयाँ कायम भएको छ । किसमिसको मूल्यमा प्रतिकिलो ५० रुपैयाँले बढेर ४ सय बाट ४ सय ५० रुपैयाँ पुगेको छ ।
काजुको मूल्य अघिल्लो वर्षको तिहारको तुलनामा प्रतिकिलो १ सय रुपैयाँले बढेर १५ सयबाट १६ सय रुपैयाँ पुगेको छ । त्यसैगरी अञ्जिरको मूल्य पनि गतवर्षको तुलनामा ५० रुपैयाँले बढेर १५ सय ५० रुपैयाँ कायम भएको बताइएको छ । यसअघि सरकारले आयात बन्द गरेका कारण सुपारीको मूल्यमा भने प्रतिकिलो ४ सय रुपैयाँले वृद्धि भएको छ ।
कुनै वस्तुको मूल्य भने घटेको पाइएको छ । सबैभन्दा बढी मूल्य घट्नेमा सुकुमेल रहेको छ । सुकुमेलको मूल्य प्रतिकिलो २ हजार रुपैयाँले घटेर ५ हजारबाट ३ हजार रुपैयाँ किलो कायम भएको छ । ओखरको मूल्य पनि प्रतिकिलो ५० रुपैयाँले घटेर ६ सय रुपैयाँबाट प्रतिकिलो ५ सय ५० रुपैयाँमा झरेको बताइएको छ ।
घरआँगनमै तिहार प्रवेश गर्न थालिसकेकाले बजारमा यस्ता वस्तुको किनमेल गर्ने उपभोक्तासमेत बढेका छन् । अहिले काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरीलगायत स्थानमा तिहार केन्द्रित किनमेल गर्ने ग्राहकको भीड बढेको देख्न सकिन्छ । आर्थिक अभियानबाट