निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई ओलीको निर्देशन



काठमाडौं,कात्तिक ९ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

मंगलबार पार्टीको पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उक्त निर्देशन दिएका हुन् ।

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने भन्दै ओलीले मुलुकमा अब हुने तीनै तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए । परमादेशबाट आफू नेतृत्वको सरकार ढले पनि आगामी निर्वाचनबाट जनादेश प्राप्त गरी पुनः आफ्नै नेतृत्वमा सरकार बनाउने ओलीले विश्वास व्यक्त गरे । ‘जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने गरी पार्टीका काममा देशभर  क्रियाशील हुन म आह्वान गर्दछु,’ ओलीले भने ।

एमालेले ६ कात्तिकमा सबै वडास्तरमा अधिवेशन गरेको थियो भने मंगलबार नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्