संविधान विरोधी तत्वहरु मौलाएका छन्: पूर्व सभामुख महरा
दाङ, कात्तिक ९ । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले देशमा संविधान विरोधी तत्वहरु मौलाएको बताएका छन् ।
दाङ घोराहीमा प्रेस सेन्टर नेपालको चौथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ता तत्वले संविधान विरोधी गतिविधिहरु बढेबढोस भन्नेमा लागेको उल्लेख गरे।
उनले भने, ‘जसलाई यो संविधान मन परेको छैन । विदेशी होस या स्वदेशी तत्वहरुलाई सकेसम्म संविधान विरोधी काम बढेबढोस् भन्ने लागेको छ ।’ ०७२ सालमा संविधान बनाउने ठूला कुरा भएको भन्दै यो संविधान नेपाली मौलिकतामा आधारित रहेको र तुलनात्मक रुपमा राम्रो भएको जिकिर गरे ।
तर यहि संविधान विरोधी गतिविधि बढेको बताउँदै उनले यसको संरक्षणका लागि पत्रकारहरुको ठूलो भूमिका हुने बताए । महराले पत्रकारहरुलाई कुनै व्यक्ति वा पार्टीका लागि मिसन पत्रकारिता नगर्न आग्रह गर्दै सर्वहारा जनता, समाजवाद उन्मुख मिसन पत्रकारिता गर्नु पर्ने औल्याए।
उनले अहिलेको पाँच दलको गठबन्धन संविधान बचाउनका लागि बनेकोसमेत बताए ।