प्रधानन्यायाधीश राणाको राजीनामा माग
काठमाडौं,कात्तिक ९ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेको छ । बार एशोसिएशनको सोमवार बसेको बैठकले प्रधानन्यायाधीश राणाको नेतृत्वमा न्यायालय सञ्चालन हुन सक्ने अवस्था नदेखिएको ठहर गर्दै तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
प्रधानन्यायाधीश राणाले सत्तारूढ गठबन्धनसँग राजनीतिक भागबण्डा खोजेको, न्यायालय सुधारका लागि पहल नगरेको, पेशी तोक्दा न्यायिक मान्यता उल्लघंन गरेको लगायत आरोप लगाउँदै बारले उनले राजीनामा दिनु उपयुक्त हुने धारणा बनाएको हो । प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बार बैठकले गरेको छ । बारका एक पदाधिकारीका अनुसार थप निर्णय र कदमबारे मंगलवार सल्लाहकार र पूर्व अध्यक्षहरूसँग समेत छलफल गरिनेछ ।
यसअघि सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश राणाले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका थिए । उनीहरूले प्रधानन्यायाधीश राणाले तोक्ने इजलाशमा सहभागी नहुने निर्णय समेत गरेका छन् । यता, सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलाश बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरूको सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीश राणाले सोमवार सर्वोच्चका न्यायाधीशहरूका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए । तर न्यायाधीशहरू इजलाशमा नबसी सामूहिक छलफलमा सोमवार जुटे । न्यायाधीशहरू छलफल जाँदा पेशी तोकिएका मुद्दाको सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीशले बोलाएको फुल कोर्टको बैठक समेत न्यायाधीशहरूको बहिष्कारले बस्न सकेन ।आर्थिक अभियानबाट