कपिलवस्तुबाट ४८ जना फरार अभियुक्त पक्राउ
कपिलवस्तु,कात्तिक ५ । कपिलवस्तु प्रहरीले असोज महिनामा ४८ जना फरार अभियुक्त पक्राउ गरेको छ।प्रतिवादीमध्ये फैसला मितिदेखि २० वर्षसम्म फरार भएका ३, १५ वर्षसम्म फरार १, दस वर्षसम्म फरार ११, पाँच वर्षसम्म फरार १७ र पाँच वर्षभन्दा कम समय फरार १६ जना रहेका छन्।
असोज महिनाको शान्ति(सुरक्षाको अवस्थाबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कपिलवस्तु प्रहरीले फरार अभियुक्त पक्राउ, लागुऔषध नियन्त्रण, एक महिनाको शिशु हत्या आरोपी पक्राउ, भन्सार छली नियन्त्रण लगायतलाई उपलब्धी मानेको छ।
असोज ६ गते शिवराज नगरपालिका(२ मदरहवाका तुलानन्द चौधरीका एक महिना १४ दिनका छोराको हत्या भएको थियो।कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार हत्यामा संलग्न भएको आरोपमा सोही ठाउँका हिरे कामीलाई पक्राउ गरिएको थियो। कामीले चौधरीकी ९ वर्षीया छोरी झरनालाई गालामा झापड हानेकोमा १ महिना १४ दिनको छोरा सुलब चौधरीलाई लागेको थियो।झापड लागेको केही समयमै शिशुको मृत्यु भएको थियो।
यस्तै, असोज महिनामा प्रहरीले २२ लाख ९१ हजार ८ सय रुपैयाँ स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको थियो।
असोज महिनामा भन्सार छलीबाट तीन करोड १ लाख १ हजार १५४ रुपैयाँ राजश्व संकलन भएको भण्डारीले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्षको असोज महिनामा ६६ लाख ६८ हजार ८७१ रुपैयाँ राजश्व असुली भएको थियो। गत वर्षभन्दा यसपालि भन्सार छलीको सामग्री बरामद उत्साहजनक रहेको भण्डारीले बताउनु भयो ।
सोही महिना लागुऔषधसहित १४ जना पक्राउ परेका थिए। २४ ग्राम ब्राउनसुगरसहित तीन जना पुरुष पक्राउ परेका थिए।
पुराना र फर्छ्यौट हुन बाँकी मुद्दाको अनुसन्धान, कारबाही, चाडपर्वलक्षित सुरक्षा व्यवस्था, सीमा अपराध नियन्त्रण, पटाका तथा विस्फोटक पदार्थमा कडाइ लगायत आगामी कार्ययोजना रहेको डिएसपी भण्डारीले बताउनु भयो।असोजमा ४४ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएका थिए। भदौ महिनामा १२७ जना फरार अभियुक्त पक्राउ परेका थिए।