नुवाकोटमा हावाहुरीसहितको वर्षाले लाखौंको क्षति, शिवपुरीका तामाङको लाखौंको गोलभेडाखेती सखाप



नुवाकोट,असोज ३१ । नुवाकोटमा शनिबार राति परेको हावाहुरीसहितको वर्षाका कारण पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ। असारमा रोप्ने समयदेखि वर्षाको मार खेप्दै आएका यहाँका किसान फेरि धान भित्र्याउने बेलामा आएको हावाहुरीसहितको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन्।

रातको समयमा भीषण हावापानीले धान खेतीसँगै दलहन बाली र तरकारीमा समेत क्षति पुर्‍याएको किसानहरुले बताएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर ५ का स्थानीय प्रेमबहादुर तामाङका अनुसार हावाहुरीसहितको वर्षाले पञ्चकन्याका माथिल्लो तथा शिवपुरी, लिखुका तल्लो भूभागमा धान बटुल्नै नमिल्नेगरी ढलेको छ। ‘हावाका कारण धानबाली सखाप भएको छ। धानबाली खेतमा सोत्तर परेपछि बालासमेत झरेको छ। अब नपाक्दै त्यसलाई न टिप्नु, न त्यत्तिकै छोड्नु, हामीलाई वर्षभरी के खाने भन्ने चिन्ता बढेको छ,’ भद्रुटारका स्थानीय किसान कृष्ण सेढाईले बताए।

उनका अनुसार कतिपय स्थानमा धानको बीउसमेत नरहने गरी हावाहुरीले धान झारिदिएको छ। किसानका अनुसार खेतमा धान कुनैकुनै ठाउँमा काट्न सुरु गरिएको थियो। पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ की धनमाया तामाङले खेतमा काटेर राखिएको धानको निनमा पानी वर्षिँदा धान सबै झारेको बताइन्। ‘धानको बीउ छरेभन्दा बाक्लो हुनेगरी खेतबारीमा धान झरेको छ, वर्षभरी गरेको दुःख खेर गयो,’ उनले भनिन्, ‘नुवाकोटमा सवैभन्दा बढी धान हुने क्षेत्रको रुपमा लिखु गाउँपालिकाको थान्सिङ फाट चिनिन्छ। पानी परेपछि धान सबै सोत्तर भएको छ। ढलेको पराल पनि सुक्न पाएन भने त्यहीँ कुहिन्छ।’

आफ्नो खेतमा भने करिब ५० प्रतिशत धानबाली हुरीले ढालेको उनले बताइन्। जिल्लाका केहि स्थानीय तह बाहेक धेरै ठाउँमा धान खेतीमा लगातारको हावाहुरीले क्षति गरेको छ। जिल्लाको शिवपुरी, पञ्चकन्या, लिखु र ककनी गाउँपालिकामा पनि हावाहुरीसहितको वर्षाले भित्र्याउने बेला भएको धानबालीमामा असर गरेको बताइएको छ। ‘कसैले पानी परिरहेकाले धान काट्न पाएका छैनन्, धेरैको खेतमा धान लडेको छ भने कतिपयको काटिएको धान खेतमै उम्रिने अवस्था आएको छ,’ दुप्चेश्वरका श्याम तामाङले बताए।

लगातारको वर्षाले किसानलाई बाँकी रहेको धान पनि कसरी भित्राउने भन्ने समस्याले जेलिरहेको छ। कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्थामा पुगेको छ। शिवपुरी गाउँपालिका वडा नम्बर ५ का नमूना कृषक प्रेमबहादुर तामाङको लाखौंको गोलभेडा खेती हावाहुरीले सखाप पारेको छ। हावाहुरीले पाक्ने समय भएको ५ वटा टनेलमा लगाइएको गोलभेडा नष्ट पारेको तामाङका छोरा प्रकाश तामाङले बताए। उनका अनुसार झन्डै ५ लाख बराबरको गोलभेडा तथा टनेल हावाहुरीले नष्ट गरेको हो।

झण्डै ५ लाख बराबरको गोलभेडा खेतीको टनेल भत्किएर क्षतिग्रस्त तस्वीर

प्रतिक्रिया दिनुहोस्