नुवाकोटमा विजयादशमीको टीकासँगै मान्यजन कहाँ आशीर्वाद लिन जानेको चहलपहल बढ्यो
काठमाडौँ, असोज २९ । बडादसैँको मुख्य दिन शुक्रबार विजयादशमीका अवसरमा बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरी मनाइएको छ। यस्तै ठूलाबडाका आशीर्वाद लिनजानेको चहलपहल समेत बढेको छ ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्यजनको हातबाट टीका थाप्न जानेको भीड बढेको हो । सडक एवं सार्वजनिक बाटोघाटोमा निजि सवारीसाधन ह्वात्तै बढेको छ । यससँगै महाअष्टमी र महानवमीमा सुनसान प्रायः भएको जिल्लाको छहरे-टोखा तथा पासाङ ल्हामु सडक क्षेत्रमा सार्वजनिक र निजी यातायात बढ्न थालेको हो । त्यस्तै जिल्लाको मध्यपहाडी सडक क्षेत्रमा समेत निजि सवारीसाधन बढेको छ।
आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ । त्यसै दिन सबै बलिपूर्ति भएपछि टीका लगाउने क्रम अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादशैँ अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।