नुवाकोटमा पनि हराउँदै दसैं संस्कृति
काठमाडौं,असोज २८ । देशभर यसवर्ष पनि दसैं मनाइदैछ। तिथि मिति पात्रो अनुसार असोज २१ बाट दसैं आरम्भ भएको हो । गतबर्ष भने यस समय दसैंको सुरुवात भएको थिएन । तर, यसबर्ष भने अबको केहीदिनमा बडा दसैंलाई बिदा गरिनेछ ।
दसैंको महत्व अन्य भन्दा हिन्दु धर्मालम्बीहरु मााझ ज्यादा प्रचलित छ । यसलाई विजयको खुसीयाली भएकैले होला विजयादशमी भनिन्छ । जे होस्, विजयादशमी पर्व हिन्दु धर्मालम्बीहरुले धुमधामका साथ मनाउने गर्छन् । हुनेले खाने, पिउने, लगाउने नै भए । नहुनेले ऋणधन गरेर पनि मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा दसैंलाई लिन सकिन्छ ।
दसैंको रौनक हरेक तरिकाबाट देखिन्छ । क्याम्पस तथा विद्यालय घटस्थापनादेखि नै बिदा हुन्छ । सरकारी कार्यालय पनि सप्तमी अर्थात् फुलपाती देखि नै बन्द हुन्छन् । युवाहरु क्याम्पस विदा भएपछि गाउँ फर्किन सुरु हुन्छ । बजारमा बसेर पढ्नेलाई चाडपर्वका बेला गाउँमै रमाईलो लाग्छ । कहिले छुट्टी होला र गाउँ जाउला भनेर बस्नेहरु धेरै हुन्छन् । बजारमा आधुनिकतासंगै चाडपर्वको रौनक समेत हराउँदै गएको छ। गाउँमा पनि मौलिकता पहिले जस्तो नभएपनि समयको परिवर्तनसंगै जिल्लामा धेरै परिवर्तन भएका छन् ।
अझै पनि बजारमा भन्दा गाउँमा दसैं आएको रौनक बढी हुने अनुभव हुन्छ । छोराछोरी पढाउन बजारतिर बस्नेलाई पनि चाडपर्व सुरु भएपनि छिटो गाउँ फर्किन मन लाग्छ । चाडपर्वको महत्व भनेको गाउँमा बढी हुने गरेको सबैको भनाई छ । तर पछिल्लो वर्षहरूमा नुवाकोटमा चाडपर्वको रौनक क्रमशः घट्दै गएको पाइन्छ।
भूकम्प प्रतिरोधात्मक घर निर्माणसंगै पुराना शैलीका घर भत्किएकाले घरमा लिपपोत गर्ने परम्परा घट्दो छ । केहि वर्ष अघिसम्म रातो, सेतो माटो लिन जानेको भिड लाग्ने गर्थे । हतार हतारमा लिपपोत गर्ने, घर तथा आगन र घरवरिपरीको बातावरण सफा गर्न गाउँमा व्यस्तता छाउने गर्दथ्यो । गाउँमा हुने अर्को दसैको रौनक दसैंको लिङ्गे पिङ्ग, जाते, रोटे पिङ्ग पनि हुन् । बुढापाकाले मोटरवाटो र गोरेटो सफा गर्न मान्छे जुटाउने गर्दथे तर समय बद्लिएको छ । महिलाहरु सालको पात टिप्ने, दाउरा संकलन गर्ने, घरमा वास्नादार चिउरा कुट्ने एक प्रकारको चटारोमा पर्दथे । दसैंका बेला पकाउने सामानको तयारी उस्तै हुने गर्दथ्यो।
भारत, खाडीमुलुक र अन्य देश गएकाहरु समेत दसैं मनाउन घर फर्किन रुचाउँथे । पहिले-पहिले टिनको बाकस बोकेको भरिया र हातमा रेडियो बजाएर आएका लाहुरे देखेर दसैं सुरु भएको भान हुने बुढापाकाहरु बताउँछन् । तर आजभोलि लाहुरेको खासै अस्तित्व छैन। अहिले त्यस्तो जमाना पूर्ण रुपमा दन्त्य कथा झै हुने गर्छ ।खसी, बोका खोज्न दुर्गम गाउातिर जानेहरुको छुट्टै मजा छ ।दसैंलाई पालेको खसी मोटायो कि दुब्लायो भनेर हेर्न जाने गर्थे । दसैंं सुरु भएपछि गाउँ-गाउँमा माईकका आवाज आउने, विभिन्न साङ्गितिक कार्यक्रमको आयोजना हुने गर्दथे । जिल्ला तहमा दसैंका लागि पालेर राखेका विक्री गरि दसैं खर्च जुटाउने समेत गर्दथे ।
जिल्लामा स्थानीय वयोवृद्धहरु मौलिक परम्परा हराउदै गएकोमा चिन्तित देखिन्छन् । समय, काल, परिस्थितिले सबैलाई परिवर्तनको संघार पुर्याएको उनीहरु बताउँछन् । गाउँघरमा चाडपर्वमा भरुवा बन्दुक पड्काउने, शंख फुक्ने आवाज आउन छाडिसकेको छ । गाउँघर र छिमेकी गाउँमा घटस्थापनादेखि सुरु हुने सामुहिक पुजा, कोटघरमा रमाईलोसंग गरिने पुजा पनि कमै मात्र हुन थालिसकेको छ । बैद्धिक विधिअनुसार नवरात्रका नौ दिनसम्म कुल देवता र शक्तिपिठमा बसेर गाउलेले पुजा गर्ने, नौ दिन निराहार बस्ने र अष्टमीका दिनमा कालरात्री पुजा गरिसकेपछि मात्रै खाने चलन समेत हट्न थालिसकेको उनीहरु बताउँछन् ।
जब दसै आयो बाटोघाटो बनाउन थालिन्थ्यो, अहिले सरकारी पैसा आएपछि मात्र बाटो खनिन्छ । अझै टाठाबाठा उपभोक्ता समूह परे भने त त्यो बाटो पनि खनिदैन । सरकारी रकम आउला र बाटो खनम्ला भन्ने हुन थालिसके । तान्त्रिक र बैदिक विधिअनुरुप दिईने बली विकृत भएर प्रथाको रुपमा समेत विकसित भएको छ। कोटघरमा नवरात्र देखिको बली दिने परम्परा र रमाईलो समेत हट्दै गएको छ । पहिले घटस्थापना अघिनै ग्राम्य देवता र कुल देवताका मन्दिरहरुको सरसफाई हुन्थ्यो । घटस्थापनामा सामुहिक जमरा राख्ने र नौ दिन सम्म सामुहिक पुजा गर्ने साथै प्रत्येक वडाले हरेकवर्ष पालो पुजा गर्ने चलन थियो । युवाको विदेश पलायन, आधुनिक संस्कृतिको विकाससंगै पुराना चलनहरु हट्दै गएको हुन सक्छ । यातायात र सञ्चारको विकाससंगै भित्रिएको बाह्य संस्कृतिले मौलिक पर्वहरु आधुनिक बन्दै गएका हुन् । दसैं पनि सांस्कृतिक अतिक्रमणमा परेको बुद्धीजीवीको अनुभव छ । गााउघरमा राखिने रोटे पिङ्ग, लिंगे पिङ्ग, जांते पिङ्ग समेत कम हुदै गएको छ । तर, मौलिक परम्परा भुल्दै जानु दुःख पक्ष भएको बताइन्छ ।