बुटवलको मोतिपुरमा कर्फ्यु जारी
बुटवल,असोज २४ । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । आइतबार दिउँसो औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
झडपमा परी नेपाल प्रहरीका ४, सशस्त्र प्रहरीका ३ र स्थानीय २ जना घाइते भएको प्रहरीले जनाएको छ । अवस्था नियन्त्रणका लागि भन्दै प्रहरीले केही राउण्ड गोली चलाएको थियो ।
घटनाको बिस्तृत विवरण संकलन भइ नसकेको प्रहरीले जनाएको छ । यो क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि भीड लागेको छ । भीडलाई तितरवितर पार्न प्रहरीले माइकिङ गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।
यसैबीच, अवस्था थप तनावपूर्ण बन्न नदिन भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आज अपरान्ह ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु लगाइएको हो ।