मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप, दुई जना घाईते



बुटवल,असोज २४ । प्रहरीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको छ।

अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका छन्। अन्य केहिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २ राउण्ड फाईरिङ गरी अवस्थालाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन।

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो। प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ। गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए।

आफूहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भैसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्