नुवाकोटको छहरे हुँदै यात्रा गर्दै हुनुहुन्छ? ‘तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ’
नुवाकोट,असोज २१ । के तपाईं नुवाकोटको लिखु गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत छहरे बजार- थान्सिङ – चौघडा, ढिकुरे हुँदै यात्रा गर्दै हुनुहुन्छ ? यदि यहि बाटो हुँदै यात्रा गर्दै हुनुहुन्छ भने तपाईं सीसीटिभीको निगरानीमा हुनुहुन्छ।
पछिल्लो समय छहरे बजार हुँदै मूल हाइवे क्षेत्रमा आपराधिक क्रियाकलाप बढेको भन्दै गाउँपालिकाले सीसीटिभी जडान कार्य सम्पन्न गरेको छ।गाउँपालिकाले झण्डै ७ लाख खर्चिएर मुल सडक क्षेत्र तथा मानिसको जमघट हुने चोक क्षेत्रमा सीसीटिभी जडान कार्य अगाडि बढाएको लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर रोक्काले बताए । सीसीटिभी जडानसंगै चाडपर्वको समयमा सवारीसाधन तथा मानिसको चहलपहल ट्रयाक प्रहरीले सजिलोसँग निगरानीमा राख्न सकिने छहरे अस्थायी प्रहरी चेक पोस्टका असई रामबहादुर घिसिङले बताए।
असई घिसिङका अनुसार सीसीटिभी जडानसंगै दुर्घटना गराएर भाग्ने सवारी साधनहरु तथा ट्राफिक नियम उल्लघंन गर्नेहरुलाई पहिचान गर्न समेत यसले ठूृलो मद्दत मिल्नेछ । गाउँपालिकाको वडा नम्बर ६ अन्तर्गत छहरे बजार, कबिलास-थान्सिङ चोक, प्रहरी चौकी क्षेत्र, गाउँपलिकाको कार्यालय रहेको नजिकैको चोक, ढिकुरे चोक लगायत झण्डै १० स्थानमा सीसीटिभी जडान गरिएको छ । सो क्षेत्रको गतिविधि प्रहरी कार्यालयले प्रत्यक्षरुपमा निगरानी गर्नेछ। समथर भूभाग रहेको यस क्षेत्रको सडकमा दिवा तथा साँझको समयमा तिव्र गतिमा सवारीसाधन कुदाउदा यस क्षेत्रमा दुर्घटना भइ केहीले ज्यान गुमाएका छन् भने केहि अङ्गभङ्ग भइ जीवन बिताइरहेका छन् ।
सीसीटिभी क्यामेराको सहयोगले मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा एवं अपराध नियन्त्रणसँगै शान्ति सुरक्षा कायम गर्नका लागि मद्दत पुर्याउने स्थानीय नागरिकको अपेक्षा रहेको छ ।
त्यस्तै दुर्घटना न्यूनीकरण गर्न, ट्राफिकको समस्या निराकरण गर्न, चोरीलगायतका कार्यमा अंकुश लगाउन सडक क्षेत्रमा राखिएको सिसीक्यामरा निकै फलदायी हुने लिखु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछाने बताउँछन् । “सडक नियम उल्लङ्घन गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि सिसीटिभीले मद्दत पुर्याउँछ ”, वडा अध्यक्ष लामिछानेले भने, “विशिष्ट व्यक्तिको आगमन एवं सुरक्षा व्यवस्था मिलाउनसमेत प्रहरीलाई महत्त्वपूर्ण सहयोग पुग्नेछ ।”