उद्योग संगठनका प्रतिनिधि–स्वीस राजदूत भेटवार्ता



संगठनद्वारा सञ्चालित शीप विकास कार्यक्रमबारे छलफल

विराटनगर,असोज २० । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ क्यापेलर र उद्योग संगठन मोरङका प्रतिनिधिबीच भेटवार्ता भएको छ । उद्योग  संगठनको सचिवालयमा सोमवार भएको भेटवार्तामा स्वीट्जरल्याण्ड र नेपालबीच हुन सक्ने व्यावसायिक तथा व्यापारिक सम्बन्ध, लगानीको सम्भावना, प्रविधि हस्तान्तरणका साथै संगठनले सञ्चालन गरिरहेको शीप विकास कार्यक्रमबारे विषयमा छलफल भएको छ ।

राजदूत क्यापेलरले उद्योग संगठनले अघि बढाएका कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरिन् । संगठनको वर्तमान कार्यसमितिले अघि बढाएका कार्यक्रमको प्रस्तुतीकरणपछि राजदूत क्यापेलरले स्वीस सरकारले धेरै पहिलेदेखि स्थानीय संस्थाहरूसँग यस्तै कार्यक्रमको अपेक्षा गरेको र आफूले विगत आठ वर्षको अवधिमा पहिलोपटक यो स्तरको कार्यक्रमका बारेमा हेर्ने र बुझ्ने अवसर पाएको बताइन् । उद्योगी आफैले प्रशिक्षार्थी छनोट गर्ने व्यवस्था नहुन्जेल यस्तो तालीम उपलब्धिमूलक नहुने भन्दै राजदूत क्यापेलर यसका लागि पहल गर्न संगठनलाई आग्रह समेत गरिन् ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले राजदूत क्यापेलरलाई  नेपालमा स्वीस लगानी भित्र्याउन, प्रविधि तथा ज्ञान आदान प्रदान गर्न, संगठन र स्वीस चेम्बरहरूसँग सहकार्य गर्न सहजीकरण गरिदिन अनुरोध गरे । यस प्रकारको भ्रमण निरन्तर भएमा सहकार्यको सम्भावनालाई मूर्तरूप दिन मद्दत पुग्ने उनको भनाइ छ ।  कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, कोषाध्यक्ष विपीन काबरा, कार्यसमिति समिति सदस्य सुरेन्द्र गोल्छा, सञ्जयकुमार अग्रवाल, तारानाथ निरौला, प्रतिभा रिजाल ओली, शौरभ सारडा, सुदिप घिमिरे लगायत स्वीस राजदूतावासका बरिष्ठ कर्मचारीकोे सहभागिता थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्