नुवाकोटको भद्रुटार सधै अन्धकार



नुवाकोट, असोज १९ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार बत्ती मुनिको अन्धकारमा परिणत भएको छ। हरेक दिन साँझ पर्ने बित्तिकै प्राधिकरणको भद्रुटारस्थित चुहानडाडाको फ्युज डाउन हुँदा समस्या उत्पन्न भएको हो।

दैनिक जसो बिजुली बत्ती जाने कारण बारे छहरे फ्युज शाखा समेत आश्चर्य प्रकट गर्दछ। सुरु सुरुमा स्थानीय साविक वडा ६ नम्बरका युवाहरु बिजुलीबत्ती संचालनका लागि ट्रान्सर्फमरमा बस्ने गरेपनि पछिल्लो समय सबैले वेवास्ता गरेकाले गाउँ अन्धकारमय भएको छ।

स्थानीयका अनुसार गाउँघरमा घरैपिच्छे कुटानीपिसानी उद्योग संचालनको परिणामका रुपमा यस्लाई लिन सकिने बताउँछन् । तर छहरे फ्युज शाखा कार्यालय भने यस भनाइलाई नकार्दै घरघरमा विद्दुत चोरीका कारण यस्तो समस्या आएको बताउँछन् । फ्युज शाखाका एक कर्मचारीका अनुसार विगतमा समेत यस्ता समस्या आउने गरेको र विद्दुत चोरी गर्ने ग्राहकलाई कानुनको दायरामा ल्याएको बताइन्छ।

झण्डै दुई सातादेखि उत्पन्न भएको यस्तो समस्या समाधानका लागि पहल गर्न स्थानीयले आफ्ना जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन्। विद्दुत नहुदा स्थानीय दुग्ध संकलन केन्द्र भद्रुटार चुहानडाडामा धेरै क्षति ब्यहोर्नु परेको संकलन केन्द्रका मदु सिटौला बताउँछन्। दैनिक ५ क्यान सम्म संकलन हुने सो केन्द्रमा दैनिक २ वा ३ भाडो दूध जमेर खेर गइरहेको सिटौलाले दुखेसो गरे। त्यस्तै बच्छला एग्रो तथा ह्याचरीमा समेत समस्या भएको सो संस्थाका प्रोपाईटर महेश सिटौलाले बताए। विद्दुत आपूर्तिमा समस्या भएपछि यस क्षेत्रका झण्डै ८० घरघुरी अन्धकारमय भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्