फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी
काठमाडौं,असोज १९ । त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनाबाट जोगिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास गरिएको छ । मंगलबार बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ’बाट रनवेतर्फ निकाल्ने क्रममा चिप्लिएको थियोे ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको छ । “जहाज धस्सिएको हैन पाकिङबाट निकाल्ने क्रममा डिसब्यालेनस भएर तीन फिट पर सरेको छ, टर्निङको क्रममा जहाजको देब्रेपट्टिको चक्का चिप्लिएको हो । अहिले जहाज निकाल्ने काम भइरहेको छ ”, उहाँले भन्नुभयो ।
जहाज उडानका लागि कुनै समस्या नरहेको पनि प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङमा जहाज चिप्लिएकाले विमानस्थलबाट हुने सम्पूर्ण उडान सञ्चालनमा कुनै अवरोध नभएको पनि विमानस्थलले जनाएको छ ।