वायुयानको सम्परीक्षण गर्न छानबिन समिति गठन : सुरक्षा मापदण्ड पालना नभएको पाइए उडान निषेध
काठमाडौं,असोज १४ । आन्तरिक उडान गर्ने निजीक्षेत्रका वायुसेवा कम्पनीहरूका हवाईजहाज र हेलिकोप्टरमा विभिन्न समस्या देखिएपछि त्यसको छानबिन तथा सम्परीक्षण गर्न सरकारले पाँचसदस्यीय समिति गठन गरेको छ । सोमवार मात्रै ७३ जना यात्रु बोकेर उडान गरेको बुद्ध एयरको जहाजमा समस्या देखिएसँगै सरकारले छानबिनका लागि तदारुकता देखाएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही वर्षयता कम्पनीका वायुयानमा समस्या देखिएकाले उच्चस्तरबाट सघन सम्परीक्षण आवश्यक भएको भन्दै छानबिन समिति गठन गरेको हो । मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिएको छ । उक्त समितिले ३ महीनाभित्र प्रतिवेदन बुझाउनेगरी कार्यादेश पाएको छ ।
मन्त्रालयका अनुसार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित कम्पनीहरूबाट भइरहेको अद्यावधिक मर्मतसम्भार, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ), सुरक्षा मापदण्ड र सुरक्षा अडिटका विषयमा सघन सम्परीक्षण गर्न आवश्यक ठानिएको छ । उडान सुरक्षालाई त्रुटिरहित बनाउन आवश्यक भएको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ । गठित समितिले नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरसहित वायुसेवाको सम्परीक्षण गर्नेछ ।
आईकाओबाट स्वीकृत मापदण्डहरू र जहाज उत्पादक कम्पनीहरूको म्यानुअलको व्यवस्था कम्पनीहरूले कार्यान्वयन गरे÷नगरेको सम्बन्धमा तयार प्रतिवेदनहरूको पुनरवलोकन पनि समितिको कार्यक्षेत्रमा परेको छ । यस सम्बन्धमा प्राधिकरणले तयार गरेको प्रतिवेदन समितिले पुनरवलोकन गर्नेछ । यसैगरी इजाजत प्राप्त विमान चालक दलका सदस्यहरूको सम्बन्धमा स्वीकृत मापदण्डहरूको पालनाको परीक्षण पनि गरिने भएको छ ।
उक्त समितिले प्राधिकरणले गर्ने उडान सुरक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारको अध्ययन गरी प्राधिकरणबाटै सम्पादित सुरक्षाअघिको गुणस्तरीयता अद्यावधिकसहित सम्परीक्षण गर्नेछ । साथै छानबिनका क्रममा हवाई सुरक्षा मापदण्डको पालना नभएको देखिए हवाईजहाज तथा हेलिकोप्टरको उडान निषेध गर्ने र शर्त पूरा नभएसम्म भूमिस्थ (ग्राउण्डेड) गर्नेसम्मको कार्यादेश समितिले पाएको छ । समितिको संयोजकमा लामिछाने, सदस्यहरूमा प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयका प्रमोद नेपाल र सदस्यसचिवमा प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा छन् । आर्थिक अभियानबाट