नुवाकोटका एक युट्युबर पक्राउ



नुवाकोट,असोज १३ । नुवाकोटका एक युट्युबर पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले बुधबार चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने नुवाकोटका एकजना सहित ४ युट्यबुर पक्राउ परेका हुन् ।

युट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् । हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोटको सुर्यगढी गाउँपालिका-२ चोकदे घर भई काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो। साइबर ब्यूरोका अनुसार पक्राउ पर्ने अन्यमा दैनिक खबर च्यानलका सञ्चालक दाङको तुलसी उपमहानगरपालिका-१७ घर भई काठमाडौंको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, सराईचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका मोरङको बेलबारी-९ घर भई पेप्सिकोला बस्ने पिंकला कार्की र मोर्डन अनलाइन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङ गाउँपालिका-४ घर भई गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन् ।

उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामाग्री प्रसारण गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामग्रीले महिलाको चरित्र हत्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृणा वा द्वेषभाव पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्