अस्वाभाविक मूल्यवृद्धिप्रति संसदीय समितिको चासो



काठमाडौं,असोज १३  । चाडबाड नजिकिएसँगै पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएकोबारे संसदीय समितिले चासो देखाएको छ । सरकारको नियमन फितलो भएका कारण तेल, चामल, दालसहित दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको गुनासो बढेपछि प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसबारेमा चासो देखाएको हो ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले यसबारेमा छलफल गर्दै चाडपर्वको बेला दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्तालाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध हुने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको निर्णय सुनाउँदै सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्री अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए ।

उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकाले यस्तो अनुगमन अन्य जिल्लामा पनि लागू गर्न मन्त्रालयलाई  भनेका छन् ।

अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकाले यस्ता अभावका सामग्रीहरू परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्या समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको सभापति श्रीवास्तवले बताए । साल्ट ट्रेडिङलाई चिनीलगायत खाद्य सामग्रीको पसल अन्य स्थानमा राख्न पनि समितिले भनेको छ ।

‘अहिले चाडपर्वको बेलामा उपभोक्ताले सुलभ, सरल र सुपथ मोलमा दैनिक खाद्यान्न, दैनिक उपभोग्य सामग्री र अन्य सम्बद्ध निकायबाट उपलब्ध हुने त्यस्तो व्यवस्थाहरू गर्न सम्बद्ध निकायलाई बैठक निर्देशन दिन्छ,’ सभापति श्रीवास्तवले भने, ‘कुनै चिजको अभाव नहोस्, अभाव भएको अवस्थामा सरकारले केकस्तो कदम चाल्नुपर्ने हो, त्यसका लागि सम्बद्ध निकायले तत्काल चाल्नू ।,’

समितिले बजारको अध्ययन गर्दा बजारमा मिसावट हट्न नसकेको, खानेपानी पर्याप्त व्यवस्था हुन नसकेको, जार र बोतल पनि पर्याप्त नदेखिएको पाइएपछि समितिको बैठक डाकेर यस्तो निर्देशन दिइएको श्रीवास्तवले बताए । सुदूरपश्चिममा देखिएको खाद्य अभाव हटाउन र साल्ट ट्रेडिङलाई चिनीलगायत खाद्य सामग्रीको अन्य ठाउँमा पनि व्यवस्था गर्न समितिले निर्देशन दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्