भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने



काठमाडौं,असोज १२ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यस परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।

आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदुरलाई १२ दिनको रोजगार दिइने यस कार्यक्रममा २०० रिभर गाइड एवम् कर्मचारीले काम पाउनेछन् । उनीहरूले काम गरेबापत परियोजनाले दैनिक एक हजार रुपैयाँ प्रदान गर्नेछ ।

नेपालमा रहेका झन्डै ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोसी, सुनकोसी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्