तेस्रो मुलुकबाट ग्यास आयात



काठमाडौं,असोज १२ । नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग प्राइभेट लिमिटेडले तेस्रो मुलुकबाट तरल पेट्रोलियम ग्यास आयात गर्ने तयारी गरेको छ । नेपालमा भारतबाट मात्र ग्यास आयात गर्दा विभिन्न कठिनाइ उत्पन्न भई आपूर्तिमा समस्या हुने भएकाले तेस्रो मुुलुकबाट पनि ग्यास आयात गर्नुपर्ने नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग प्रालिका महाप्रबन्धक मुकुलमणि दाहालले बताए ।

नेपालमा तेस्रो मुलुकबाट ग्यास आयात गर्नका लिग अध्ययन सुरु भइसकको उनले जानकारी दिए । नेपालको कठिन भौगोलिक अवस्थाका कारण सजिलै ग्यास आयात गर्न सकिने अवस्था नरहेको दाहालको भनाइ छ । तेस्रो मुलुकबाट ग्यास ल्याउँदा समुद्री मार्गबाट ल्याउनुपर्छ जुन निकै जटिल देखिन्छ । यसका लागि भारतमा भण्डारण गर्नुपर्ने हुन्छ । यसरी ल्याएका ग्यास महँगो पर्न सक्ने दाहालको अनुमान छ । तेस्रो मुलुकबाट आयातका लागि अध्ययन सुरु भएको एक वर्ष भए पनि ग्यास ल्याउन अझै दुई वर्ष लाग्ने दाहालले बताए । उद्योगले मलेसियाबाट ग्यास ल्याउने तयारी गरेको उनको भनाइ छ ।

पछिल्लो समयमा नेपालका सरकारी अधिकारीहरूले पनि तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थको आयात गर्नुपर्ने बताउँदै आएका छन् । वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले नेपालमा तेस्रो मुलुकबाट पनि पेट्रोलियम पदार्थ आयात गर्न सकिने तर भौगोलिक अवस्थाले गर्दा आयातमा कठिनाइ हुने बताएका छन् । अहिले नेपाल आयल निगमले मात्र नेपालमा ग्यास आयात गरिरहेको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्