नेवानिमा करीब ३ महीनादेखि आन्दोलन : बजेट पारित नहुँदा पारिश्रमिक रोकिने अवस्था
काठमाडौं,असोज ८ । नेपाल वायुसेवा निगम (नेवानि)मा असार १८ गतेदेखि जारी कर्मचारीको आन्दोलनले विभिन्न कार्यहरू ठप्प भएका छन् । कर्मचारीले आन्दोलन गरी चालू आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नदिएको भन्दै महाप्रबन्धकको कार्यालयले चाडपर्वहरूमा समेत पारिश्रमिक वितरण गर्न अप्ठ्यारो पर्ने बताएको छ ।
कार्यालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने र कर्मचारीको पारिश्रमिक वितरणमा समेत कानूनी अप्ठ्यारो पारेको उल्लेख गरेको हो । निगम महाप्रबन्धक डिमप्रसाद पौडेलले बजेट पारित हुन नसकेको अवस्थामा कसरी पारिश्रमिक भुक्तानी गर्ने भन्ने विषयमा तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी नीतिगत सहमति लिने बताए । मन्त्रालयबाट सहमति लिई दशैंअघि नै पारिश्रमिक उपलब्ध गराउन निगम प्रतिबद्ध रहेको उनको भनाइ छ ।
आन्दोलनकै कारण गौतम बुद्ध पोखरा अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड हेन्डलिङ सेवाका लागि आवश्यक तयारी रोकिएको विज्ञप्तिमा उल्लेख छ । साथै अनलाइन टिकट प्रणाली, आईएफआरएस, ए ३२० को इन्जिन मर्मत, निगमको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) जस्ता कार्य समेत प्रभावित भएको बताइएको छ ।
नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारी आन्दोलित भएका छन् । अर्बाैं रुपैयाँ घाटामा रहेको निगमलाई कम्पनी मोडलमा लैजाने सरकारी प्रक्रियाका बीच उनीहरूले यसको विरोधसहित आन्दोलन गर्दै आएका छन् । आर्थिक अभियानबाट