राष्ट्र बैंकको प्रतिवेदन : बाह्य क्षेत्र दबाबमा



काठमाडौं,असोज ८ । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो ।

साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ भने विप्रेषण आप्रवाह पनि दोहोरो अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार साउनमा आर्थिक क्षेत्रका विभिन्न सूचक नकारात्मक देखिएका छन् ।

साउनमा मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर (शोधनान्तर स्थिति) पुनः घाटामा आएको छ । गत जेठ मसान्तसम्म रू. १५ अर्ब १५ करोडले घाटामा रहेकोमा शोधनान्तर स्थिति असार मसान्तसम्म आउँदा १ अर्ब २३ करोडले बचतमा थियो ।

तर, साउन मसान्तसम्म आउँदा पुनः घाटामा गएको छ । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति रू. ३८ अर्ब ७५ करोडले घाटामा छ । गत आवको सोही महीना (साउन) मा पनि शोधनान्तर स्थिति रू. ५१ अर्ब ४६ करोडले बचतमा थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय देशको अवस्था चिन्ताजनक नै देखिएको बताए । ‘अहिले विप्रेषण अर्थतन्त्र मुख्य टेकोका रूपमा छ । तर, अहिले विप्रेषण आप्रवाह नै घटेको छ । साथै, शोधनान्तर स्थिति पनि घाटामा गएको छ भने अन्य परिसूचकको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘समग्रमा अहिले अर्थतन्त्रको अवस्था चिन्ताजनक नै छ । यो अवस्था दीर्घकालीन नहोला भन्ने आशा पनि छ ।’

विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले साउन महीनामा पनि निरन्तरता पाएको छ । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको थियो । तर, साउनसम्म आउँदा त्यो घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

साउनमा चालू खाता घाटा भने ह्वात्तै घटेको छ । गत असारसम्म चालू खाता रू. ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा थियो । तर, असारसम्म आउँदा त्यस्तो घाटा घटेर ४७ अर्ब ९० करोडमा सीमित भएको छ ।

यस्तै, साउनमा विप्रेषण आप्रवाह पनि १८ दशमलव १ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा २३ प्रतिशत र गत आवमा करीब १० प्रतिशतले बढेको विप्रेषण आप्रवाह चालू आवको पहिलो महीनामै १८ दशमलव १ प्रतिशतले घटेको हो । साउनमा कुल ७५ अर्ब ९६ करोड विप्रेषण भित्रिएको छ । गत आवको सोही अवधिमा भने ९२ अर्ब ७१ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो ।

आव २०७८/७९ को पहिलो महीनामा कुल वस्तु व्यापारघाटा ७० दशमलव ६ प्रतिशतले वृद्धि भई रू. १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२ दशमलव २ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३ दशमलव ८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव २ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा कुल वस्तु निर्यात ११५.९ प्रतिशत ले वृद्धि भई रू. २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को पहिलो महीनामा कुल वस्तु आयात ७५ दशमलव ७ प्रतिशतले वृद्धि भई रू.१ खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा भ्रमण आय ८६ दशमलव १ प्रतिशतले कमी आई रू. ६० करोड ५६ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू. ४ अर्ब ३६ करोड रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय पनि ७७ दशमलव ४ प्रतिशतले घटेर रू. १ अर्ब ५८ करोड कायम भएको छ । त्यसमध्ये शिक्षातर्फको व्यय रू. १ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू. ७ अर्ब २ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. ३ अर्ब ४९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

साउन महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ४ दशमलव ३५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको थियो । गत आवको औसत मासिक मुद्रास्फीति पनि ३ दशमलव ६० प्रतिशत थियो । साउनमा मूल्य वृद्धि बढेको देखिन्छ । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ८६ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति ४ दशमलव ७४ प्रतिशत रहेको छ । यस्तै, समीक्षा महीनामा घ्यू तथा तेल २९ दशमलव ०७ प्रतिशत रहेको छ । यसैगरी गैरमदिराजन्य पेय पदार्थ, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको मूल्य वृद्धि क्रमशः १० दशमलव ५१ प्रतिशत, १० दशमलव १२ प्रतिशत र ९ दशमलव ४३ प्रतिशत रहेको छ ।

समीक्षा महीनामा काठमाडौं उपत्यकामा ३ दशमलव ७० प्रतिशत, तराईमा ४ दशमलव ११ प्रतिशत, पहाडमा ५ दशमलव ६३ प्रतिशत र हिमालमा ३ दशमलव ५८ प्रतिशत मूल्य वृद्धि देखिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्