कोरोना महामारी नियन्त्रण गर्न अर्थमन्त्रीले विश्व बैंकसँग मागे थप सहयोग



काठमाडौं,असोज ५ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपालले थप सहयोगको अपेक्षा गरेको बताएका छन् ।

सोमवार अर्थ मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा उनले बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिंदै थप सहयोग गर्न अनुरोध गरेका हुन् ।

‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, उनले भने, ‘कोभिड–१९ संक्रमणको समयमा बैंकले आपतकालीन सहयोग र खोप खरीदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ । यसका लागि धन्यवाद दिन चाहन्छु ।’


मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए । ‘सरकार सबै नागरिकलाई खोप उपलब्ध गराएर आर्थिक पुनरुत्थातर्फ अगाडि बढ्न अग्रसर छ, यसमा विश्व बैंकको थप सहयोग र सहकार्यको अपेक्षा छ’, उनले भने ।

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीको माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले आउँदो विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे ।

भेटमा बैंकका दक्षिण एशियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि आग्रह गरे । उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिंदै आएको सहयोगको निरन्तरता हुने प्रतिवद्धता पनि व्यक्त गरे । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्