चाडपर्वमा चिनीको अभाव हुँदैन : वाणिज्य विभाग
काठमाडौं,असोज २ । नजिकिंदो दशैं तथा तिहारमा चिनीको अभाव हुने चर्चा परिचर्चा चलिरहेकै बेला भन्सार विभागले पर्वमा अभाव नहुने बरु मौज्दात रहेको बताएको छ ।
भन्सार विभागले चालू आर्थिक वर्षको पहिलो महीनमा भारतबाट मात्रै १ लाख ६३ हजार किलो चिनी आयात भएको बताएको छ । अवको करीब एक महीनापछि दशैं र त्यसपछि दिपावली तथा छटपर्व पर्दछ ।
ती पर्वमा चिनीको अत्याधिक खपत हुने गर्दछ । भन्सार विभागमा अभिलेख गरिएको उक्त तथ्यांकलाई आधार मान्ने हो भने पनि नजिकिंदो पर्वमा चिनीको अभाव नहुने पुष्टि हुन्छ । यसैबीच वाणिज्य तथा आपूर्ति विभागले चिनी पर्याप्त भएकाले उपभोक्तालाई आवश्यक भन्दा बढी चिनी घरमा थुपारेर नराख्न भनेको छ ।
चिनी उत्पादक संघका अनुसार नेपालमा उद्योग र उपभोक्ताको दुवै गरी वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ । व्यापारीहरू पसल तथा गोदाममा तीन महीनासम्म पुग्ने चिनी मौज्दात रहेको बताएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले बताए ।
बजारमा चिनी प्रतिकिलो ८५ देखि ९० रूपैयाँमा विक्री भइरहेको छ भने साल्ट ट्रेडिङको सहुलियत पसलमा प्रतिकिलो ७९ रूपैयाँले विक्री भइरहेको छ । खुद्रा बजारमा भने चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँको हाराहारीमा विक्री भइरहेको छ ।
नजिकिदो पर्वसँगै वाणिज्य तथा आपूर्ति विभाग, प्रहरी, स्थानीय निकायले चाडपर्वलाई ध्यानमा राख्दै संयुक्त अनुगमन गर्ने हो भने खुद्रा बजारमा पनि चिनीको साविककै मूल्यमा पाइने उपभोक्ताहरुको भनाइ छ ।