कोशिश नेपालले गर्यो मनोसामाजिक समस्यामा परेका दुई महिलाको भद्रुटारबाट उद्धार



नुवाकोट,भदौ ३० । कोशिश नेपाल नामक एक गैरसरकारी संस्थाले मनोसामाजिक समस्यामा परेका दुई महिलाको उद्धार गरेको छ। जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको बुढिसेराबाट मनोसामाजिक समस्यामा परेका दुई महिलाको उद्धार गरेको हो।

उद्धार सेवा नै धर्म हो भन्ने मूल नारासहित संस्थाले नाम थर वतन नखुलेकी अन्दाजी ३५ वर्षकी महिला र भद्रुटारकै मनोसामाजिक समस्यामा परेकी ४० वर्षीया ठुलीमैया तामाङको उद्धार गरी ललितपुरस्थित संस्थाकै सुधारकेन्द्रमा लगिएको संस्थाकी निशा सिटौलाले बताइन्। मंगलबार गरिएको उद्धार कार्यक्रममा भद्रुटार हेल्थ पोस्टका इन्चार्ज रबिन्द्र शाह, मनोविद सफल सापकोटा, स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियोे।

संस्थाले नुवाकोटको विभिन्न क्षेत्रबाट १५ देखि माथि उमेर समूहको मनोसामाजिक समस्यामा परेका महिलालाई उद्धार गर्दै आइरहेको छ। त्यस्ता समस्यामा परेका महिला तथा पुरुष उद्धारका साथै विविध मनोपरामर्शका कार्यक्रम समेत गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्