राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी निर्देशन : विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढ्यो
काठमाडौं,भदौ ३० । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूलाई ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७८’ जारी गरेको छ ।
निर्देशनमार्फत् बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा बढाएको छ । जस अनुसार मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ ।
यसअघि मोबाइल बैंकिङमार्फत एक दिनमा १ लाख रुपैयाँ मात्र कारोबार गर्न सकिने व्यवस्था थियो ।
यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ । अब बैंकबाट वालेटमा प्रति कारोबार ५० हजार, प्रति दिन एक लाख र प्रति महीना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ ।
त्यस्तै, एक वालेटबाट अर्को वालेटमा प्रति कारोबार २५ हजार, प्रति दिन एक लाख र प्रति महीना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।
मोबाइल र इन्टरनेट बैंकिङ कारोबारमा ५० हजार रुपैयाँसम्म १० रुपैयाँ, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्मका लागि प्रति–कारोबार २० रुपैयाँ र एक लाखभन्दा माथिको कारोबारको हकमा सेवा प्रदायकले ३० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् । आर्थिक अभियानबाट