नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गर्दैै जापान
एजेन्सी,भदौ २९ । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ ।
त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् ।खोप विकासबारे विकास कार्यक्रममा संलग्न विश्वविद्यालयका संक्रामक रोग नियन्त्रण तथा औषधि विभागका प्राध्यापक तेसुया नोजाकाले बताएका हुन् ।
यस विधिबाट खोप लगाउन सुइले घोच्नु पर्दैन । खोपलाई नाकको दुबै प्वालमा स्प्रे गर्न सकिन्छ । यस विधिबाट लगाइएको खोपले पनि उपयुक्त स्तरमा एन्टीबडी उत्पादन गर्ने नोजाकाले बताएका छन् ।
सो खोप सन् २०२० को मार्चदेखि बनाउन थालिएको हो । बूष्टर मात्राको रुपमा प्रयोग गर्न मिल्ने यस खोपलाई कम्तिमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिनेबताइएको छ ।
जनावरहरुमा शुरुआती चरणमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ । खोपको प्रभावकारिताले आफूहरु नै अचम्मित बनेको नोजाका बताउँछन् ।अहिले प्रयोगमा आइरहेका खोपहरु जस्तो यो खोप लगाएपछि ज्वरो आउने जस्ता साइड इफेक्टहरु देखिंने सम्भावना पनि अति नै कम भएको बताइएको छ ।
खोपलाई जापानमा मात्रै नभएर विश्वभर सकेसम्म छिटै प्रयोगमा ल्याउने विकासकर्ताहरुको चाहना छ ।
यो खोप दुई वर्ष भित्र प्रयोगमा आउने अपेक्षा गरिएको छ । सुईबाट खोप लगाउने डर लाग्ने वा ट्राईपानोफोयिबा (सुईदेखि डर लाग्ने रोग) भएकाहरुलाई यो खोपले राहत दिनेछ ।