नाडाले गर्यो प्रतिस्थापन बजेटको स्वागत : ‘नेपालमै अटोमोबाइल उद्योग खुल्ने’
काठमाडौं,भदौ २८ । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटको स्वागत गरेको छ । नयाँ बजेटले स्वदेशी उद्योगलाई प्रवद्र्धन गरेको भन्दै व्यवसायीले अब नेपालमै सवारीसाधन एसेम्बलिङ उद्योग स्थापना हुने बताएका छन् ।
शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा प्रतिक्रिया दिँदै नाडाले अब नेपालमै अटोमोबाइल उद्योग खुल्ने बताएको हो । सरकारले ल्याएको प्रतिस्थापन बजेट सवारीसाधन एसेम्बलिङका लागि कोसेढुंगा भएको भन्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले यसका लागि बजेटको पूर्ण कार्यान्वयन महत्त्वपूर्ण हुने बताए ।
आयातित मोटरसाइकलमा अन्तःशुल्क वृद्धि गर्दै नेपालमै एसेम्बलिङ हुने उद्योगको भन्सार तथा उत्पादन दुवैतर्फ अन्तःशुल्कमा ५०/५० प्रतिशत छूट दिने व्यवस्था उक्त विधेयकमा गरिएको छ । यद्यपि, आयातित मोटरसाइकलका लागि भने सरकारले ‘सेग्मेन्ट’ नै परिवर्तन गरी अन्तःशुल्क बढाएको छ । सरकारले १२५ देखि २०० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत र २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ३० प्रतिशतसम्म अन्तःशुल्क बढाएको छ । सरकारले एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्नु सकारात्मक भएको भन्दै अध्यक्ष दुलालले सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर वृद्धिको निर्णय सच्याइनुपर्ने बताए । ‘सर्वसाधारणले चढ्ने मोटरसाइकलमा बढाइएको पुरानै सेग्मेन्ट कायम गरेर कर घटाउनुपर्छ,’ उनले भने । सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्न ऐन नियमको स्थिरता महŒवपूर्ण हुने समेत उनले बताए । आर्थिक अभियानबाट