अनलाइनबाट विद्युत् महशुल भुक्तानी गर्न १२ कम्पनी छनोट



काठमाडौं,भदौ २४ । नेपाल विद्युत् प्राधिकरणले अनलाइन माध्यमबाट विद्युत् महशुल भुक्तानी गर्न १२ सेवाप्रदायक कम्पनी छनोट गरेको छ । प्राधिकरण सञ्चालक समितिको हालै बसेको बैठकले अनलाइन मार्फत महशुल भुक्तानी गर्ने काम गर्न उक्त संख्यामा कम्पनी छनोट गरेको हो ।

यसअघि पनि विभिन्न कम्पनीले विद्युत् महशुलको भुक्तानी सेवा दिँदै आएका थिए । प्राधिकरणले हाल १२ कम्पनीलाई छनोट गरेसँगै अब यीबाहेकका कम्पनीले विद्युत् महशुल भुक्तानीको काम गर्न नपाउने भएका छन् ।

प्राधिकरणले भुक्तानीको काम गर्न ई–सेवा, स्पारो प, सजिलो पे, सेलकम, आईएमई डिजिटल सोलुसन, पेवेल, नेपाल डिजिटल पेमेन्ट र आईक्यास प्राइभेट लिमिटेडलाई तोकेको छ । उक्त संस्थाका मोबाइल एप, वेब सफ्टवेयर लगायतबाट विद्युत् महशुल तिर्न सकिनेछ ।

यसैगरी हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र महालक्ष्मी विकास बैंकलाई पनि विद्युतीय माध्यमबाट  महशुल भुक्तानी सेवाका लागि छनोट गरिएको छ । उक्त बैंकहरूको मोबाइल एपमार्फत महशुल भुक्तानी गर्न सकिने बताइएको छ ।

सेवा प्रदायक कम्पनीहरूले मासिक ५०० रुपैयाँसम्म महशुल भुक्तानी गर्दा शुल्क नलिने बताएका छन् । यद्यपि, पेवेलले भने मासिक १ हजार रुपैयाँसम्म भुक्तानी गर्दा सेवा शुल्क नलिने बताएको छ ।

मासिक ५०० देखि ५ लाख रुपैयाँसम्म भुक्तानी गर्दा भने प्रतिकारोबार अधिकतम ५ रुपैयाँ सेवा शुल्क लाग्ने उल्लेख छ । १२ सेवा प्रदायक कम्पनीमध्ये १० कम्पनीले प्रतिकारोबार ५ रुपैयाँ शुल्क लिने बताएका छन् । सजिलो पे र पेवेलले भने प्रतिकारोबार क्रमशः ४ रुपैयाँ ८० पैसा र ३ रुपैयाँ सेवाशुल्क तोकेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्