प्यूठानका ६४ वटै वडामा कांग्रेस अधिवेशन सम्पन्न
प्युठान,भदौ २२ । प्यूठानमा नेपाली कांग्रेसको वडा अधिवेशन टुंगिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंगलबार जिल्लाका ६४ वटै वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।जसमध्ये ६३ वडामा सर्वसम्मत र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेस प्यूठानका सभापती अमर प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार नौबहिनी गाउँपालिका– ८,मा निर्वाचनबाट नेतृत्व चयन भएको हो। प्यूठानमा ६४ वडा सभापतिसहित एघार सयको हाराहारीमा क्षेत्रीय प्रतिनिधि छानिएका छन् ।
प्यूठानमा कांग्रेसका जम्मा ५ हजार क्रियाशील सदस्य रहेको सभापती भण्डारीले जानकारी दिनुभयो।जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता निर्मल गौतमलाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ।प्यूठानमा स्थानिय तहको अधिबेशन यहि भदौ २७ गते र जिल्ला अधिवेशन असोज ५ गते हुने छ।
जिल्ला सभापतिमा दुई जनाको दाबी
जिल्ला सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल र गगन÷सिटौला प्यानलका वर्तमान पार्टी सचिव विष्णु कुमार गिरी र पार्टीका केन्द्रीय सभापती शेर बहादुर देउवा खेमाबाट निवर्तमान पार्टी सचिव शिव रिजालले सभापतीमा उम्मेदवारी दिने जानकारी दिनुभएको हो ।
सभापतीमा उठेका गिरी गौमुखी गाउँपालिका र रिजाल नौवहिनी गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।