काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन बारे उर्जामन्त्रीद्वारा छलफल
काठमाडौं,भदौ १८ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गरेकी छन् ।
पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिएकी हुन्।
सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराएका थिए । उनले विद्युतीय बस खरीदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराएका थिए ।
उनले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताए। बोलपत्र आह्वान गरेर बस खरीदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महीनापछि तीन ओटा विद्युतीय बस काठमाडौं आइपुग्ने जानकारी गराए। चरणबद्धरूपमा विद्युतीय बस खरीद गरेर सञ्चालनमा ल्याउने बताउँदै उनले सरकारले त्यसका लागि सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा मन्त्री भुसालले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताइन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौं महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रह पनि गरिन् । उनले विद्युतीय सवारी साधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरीद गरिएको पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिइन्।
उच्च व्यापार घाटा कम गर्नका लागि पनि विद्युत् खपतलाई बढवा दिनुपर्नेमा जोड दिंदै मन्त्री भुसालले सो कार्यका लागि समाजका सबै निकायले सकारात्मक भूमिका निर्वाह गर्न आह्वान गरिन्।
त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनका लागि सरकारकोतर्फबाट सहयोग हुने बताउँदै आगामी दिनमा उपयुक्त तवरले संरचना खडा गरेर आगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताए।
त्यसैगरी सञ्चालक समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसकोे खरीद प्रक्रिया र लागतबारे जानकारी गराए । उनका अनुसार करबाहेक एउटा बस खरीदका लागि १ करोड ५ लाख रुपैयाँ पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस १ करोड ५२ लाख रुपैयाँ पर्नेछ । यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो । पहिलो चरणमा ६१ करोड रुपैयाँको लागतमा ४० ओटा बस खरीद गर्न लागिएको छ ।
साझाले आह्वान गरेको बोलपत्रमा नौ ओटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सिएचटिसी किनवेन(नान्जीङ) अटोमोबाइल कम्पनीले छनोट भएर बस खरीद प्रक्रिया अगाडि बढेको हो ।
तुलाधरका अनुसार अबको चार महीनामा तीन ओटा बस नेपाल आएर परीक्षण शुरु हुनेछ । सम्झौताअनुसार एकपटक ब्याट्री चार्ज गर्दा २०० किलोमिटर गुड्छ । बसमा १६१ किलोवाट प्रतिघण्टाको ब्याट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।
पछिल्लो समय सरकारले साझामा ३ अर्ब रुपैयाँ बराबरको शेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । साझाले आगामी सन् २०२५ सम्म सबै डिजेल बसलाई विद्युतीय बसमा परिणत गर्ने नीति लिएको छ । हाल साझाले ७१ ओटा ठूला बस सञ्चालन गर्दै आएको छ । आर्थिक अभियानबाट