प्रधानमन्त्री देउवाद्वारा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन
कोरोना महामहारीले अस्थिर बनाएको अर्थतन्त्र उकास्न सहयोग पुग्ने अपेक्षा
काठमाडौं,भदौ १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ बुधबार उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उक्त मेला उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले मेलाबाट कोरोना महामारीका कारण अस्थिर रहेको अर्थतन्त्रलाई उकास्न उद्यमशीलता र आर्थिक विकासमार्फत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महासंघ अध्यक्ष रीता सिम्हाले मेलाले महिला उद्यमीका उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा सीप आदान–प्रदानमा सहयोग पुग्ने बताइन् ।
नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई सँगै जोडेर प्रभावकारी प्लेटफर्मको सिर्जना गर्दै सरोकारवाला तथा महिला उद्यमीबीच सञ्जाल निमार्णमा समेत मेलाबाट प्रोत्साहन पुग्ने उनको भनाइ छ ।
हालको समय नागरिकको दैनिकी डिजिटल बजारतर्फ आकर्षित भइरहेकाले मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देशका विभिन्न स्थानमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुग्ने उनको धारणा छ ।
महासंघकी प्रथम उपाध्यक्ष नीरु रायमाझी खत्रीले महिला उद्यमीको हौसला बढाउन र अन्तर्राष्ट्रिय बजारमा देशभर उत्पादित वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि मेलाले साझा स्थल सिर्जना गरेको बताइन् ।
महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण र रुपान्तरणका निम्ति सञ्जाल विस्तार, सूचना प्रवाह, क्षमता वृद्धि र बजारीकरणमा मेलाले टेवा पु¥याउने विश्वास व्यक्त गरिन् ।
महिला उद्यमशीलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिबी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा जोड पुग्ने उनको दाबी छ ।
भदौ २१ गतेसम्म चल्ने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्था गरी ८० स्टलको सहभागिता रहेको छ ।आर्थिक अभियानबाट