सप्तकोशीमा यस वर्षकै उच्च वहाव



काठमाडौं,भदौ १३ । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहिदिनदेखि लगातार वर्षाका कारण नदीको वहाव यस वर्षकै उच्च विन्दुमा पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

श्रोतका अनुसारपछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ । नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन ।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सोरेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामारहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबिच निरन्तरको वर्षासँगै कोशीको वहावमा निकैनै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेकाले टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्