कांग्रेस महाधिवेशनः ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइयो



काठमाडौं, भदौ १२ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको प्रक्रिया सुरु गर्न ३८ जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । यही भदौ १८ गते गाउँपालिका तथा नगरपालिकाको वडास्तरको अधिवेशन सुरु गर्न पार्टीले क्रियाशील सदस्यताको छिनोफानो भएका जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक कानुनविद् महादेव यादवले जिल्ला निर्वाचन अधिकृतहरू खटिएको जिल्लामा जाने क्रम सुरु भएको जानकारी दिए । पहिलो चरणमा हिमाली र पहाडी जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ । हिमाली र दुर्गम जिल्लामा पुग्न केही दिन लाग्ने भएकाले पहिलो चरणमा निर्वाचन अधिकृत खटाइएको उनले बताए ।

निर्वाचन अधिकृतलाई क्रियाशील सदस्यताको नामावली, निर्वाचन निर्देशिका लगायतका निर्वाचनसँग सम्बद्ध सामग्री पठाइएको छ । काठमाडौँ आसपासका जिल्ला र सुगम जिल्लामा भने एक दुई दिनमा प्रतिनिधि खटाइने भएको छ ।

क्रियाशील सदस्यताको छिनोफानो भएपछि बाँकी जिल्लामा पनि प्रतिनिधि खटाइने जानकारी कांग्रेसले दिएको छ । पार्टीले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिन समय लागे पनि छिनोफानो भएका जिल्लामा भने निर्वाचन प्रक्रिया सुरु गर्न निर्वाचन अधिकृत खटाइएको हो ।

सबै जिल्लामा भदौ १८ गते एकै चरणमा वडास्तरको अधिवेशन गरिने भए पनि प्रतिनिधि भने विभिन्न चरणमा खटाउनुपर्ने अवस्था रहेको छ।

यो समाचार गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्