औपचारिकरुपमै एमाले २०७५ जेठ २ मा फर्कियाे
काठमाडाैँ,भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको हाे ।
याससँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको छ । बैठकपछि पत्रकारसँग बोल्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला र सबै तहका कमिटीलाई २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन दिएको बताए ।
प्रवक्ता ज्ञवालीका अनुसार एमालेले पार्टीको आन्तरिक एकताका लागि तयार भएको १० बुँदे सहमतिलाई सन्दर्भ सामग्रीको रुपमा लैजानेसमेत निर्णय गरेको जानकारी दिए । ०७५ जेठ २ को अवस्थामा लैजाँदा आउने समस्या समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्टलगायतका नेताहरु रहेको कमिटी समेत बनाइएको ज्ञवालीले बताए ।
यस्तै बैठकले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने तथा काठमाडौंमै आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने, आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।