प्युठानमा सिङ्गो गाउँ नै पहिरोको जोखिममा, घर छाड्दै स्थानीय
प्यूठान,भदौ ८ । प्यूठानको नौबहिनी गाउँपालिका–५ डामृका स्थानीय बासिन्दा पहिरोको डरले आफ्नो घर छाड्न बाध्य भएका छन्। बस्तीको माथी र तलबाट धाँजासहित पहिरो जान थालेपछि स्थानीयले घर छाडेका हुन् ।
स्थानीय टकमान सुनारले चिरा परेर भत्कन थालेपछि घर छोडेर सुरक्षित स्थानमा सरेको बताउनुभयो।स्थानीयका अनुसार डामृमा घरका आँगनहरू चिरा पर्न थालेका छन् । जताततै जमिन फाटेको छ ।
१० परिवारले पूर्ण रूपमा घर छाडिसकेका छन् । अन्य १५ परिवारसमेत विस्थापित हुने अवस्थामा छन् ।वडाअध्यक्ष अन बहादुर घर्तीले ७० भन्दा धेरै घर पहिरोको जोखिममा रहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘ जताततै चिरिएको हेर्दा गाउँ नै सर्लक्क बगेर जाने खतरा देखिन्छ,’ पानी थपिए गाउँ जोगिन गाह्रो छ।’ घर छोडेकाहरु गोठ र आफन्तकोमा गएर बसेका छन्
यो बस्तीमा यस अघि पनि पहिरोले क्षती पुर्याएको घर्तीले सुनाउनुभयो । जोखिममा परेको मानिसहरुलाई तत्काल स्थानान्तरण गरी सुरक्षित स्थानमा बसाउन पर्ने आवश्यकता रहेको स्थानीय लोकेन्द्र थापाले बताउनुभयो ।प्यूठानको बहाने – डामृ – रोल्पा सडकखण्ड पूर्णरूपमा बन्द भएको छ । बिद्युतका पोलहरु ढलेर गाउँमा बिद्युत अबरुद्द भएको छ। भिरालो जमिन र कमजोर भुगोलका कारण प्यूठानको नौबहिनी र गौमुखी गाउँपालिका क्षेत्र पहिरोको उच्च जोखिममा छन् ।