रसुवाको पार्वतीकुण्डमा ५ हजार जनाले गरे दर्शन



रसुवा,भदौ ७ । रसुवाको प्रशिद्द धार्मिक आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ गत्लाङस्थित पार्वती कुण्डमा दर्शनार्थीहरुको घुईचो लागेको छ। जनैपूर्णिमाका दिन लागेको मेलामा ५ हजार बढीले पार्वतिकुण्डको दर्शन गरेको चिलिमेकी स्थानीय बासिन्दा सुजता तामाङले बताईन।

उनका अनुसार यस वर्ष चिलिमे,गाेल्जुङ,गत्लाङ,ग्रे,नेसिङ,भार्खु,स्याफ्रु,धुन्चे,हाकु वेत्रावति,कालिकास्थान, लगाएतका धादिङको रूविभ्यालि र तिप्लिङवाट करिव ५ हजार जना पार्वती कुण्ड पुगेका हुन। घना बुम्जाेमाने सामुदायिक वनकाे काखमा रहेको  पार्वती  कुण्ड समुन्द्री सतह देखि २ हजार ५५० मिटरकाे उचाइमा अवस्थित छ। यसलाई स्थानीय भाषामा आमाछाेदिङमाे  पनि भनिन्छ ।

पार्वतीकुण्ड तामाङ सम्पदा मार्ग भित्र पर्ने भएको हुदाँ यस क्षेत्रमा तामाङहरूको भेषभुषा, संस्कृति र परम्पराको अध्ययन तथा अवलोकन गर्न  हरेक बर्ष हजारौ विदेशी पर्यटक समेत यस क्षेत्रमा आउने गर्दछन । तर अन्य दिनमा भन्दा पनि जनैपूर्णिमामा लाग्ने पार्वतीकुण्ड मेलामा मौलिक पहिरन भेषभुषामा सजिएर युवायुवती देखि बृद्धबृद्धा सम्मले स्थानीय गीत गाउदै नाच्ने गर्दछन । गोसाईकुण्ड पछिको दोस्रो कुण्डको रुपमा पार्वतीकुण्ड परिचित छ ।

सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या सामाधान गर्नको लागि जनैपूर्णिमाको बेलामा लामा झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र पार्वतीकुण्डले दिन्छिन् भन्ने किम्बदन्ती छ। त्यसैले पनि यहाँ हजारौ जना दर्शनका लागि पुग्ने गरेका हुन। तर वर माग्ने व्यक्तिले जनैपूर्णिमा या फाँगुन पुर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ । परापुर्वकालमा पार्वती महिनावारी भएका कारण महादेव शिवलाई हेर्न नहुने भएपछि यस ठाउँमा आई बसेको र गोसाईकुण्ड नदेखिने भएकाले यस कुण्डमा पार्वती बसेको भन्ने  जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्