नुवाकोटको छहरे बजारमा गाईजात्राको रौनक
नुवाकोट,भदौ ७ । हरेक वर्ष झैं यसवर्ष पनि जिल्लाको छहरे बजारमा गाईजात्रा पर्व मनाइएको छ। दिवंगत भएका घरपरिवारबाट विभिन्न शैलीमा बिहानैदेखि लिखु गाउँपालिकाको भट्टथोक र शिवपुरीको थानापतिलगायत आसपासका नेवारी बस्तीबाट गाईजात्रा निकालिएको हो।
नेवारी परम्परा अनुसार वर्ष दिनभित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा घरपरिवारले गाई जात्रा निकाल्ने परम्परा रहँदै आएको छ। थान्सिङको भट्टथोकमा गाईजात्रा निकाल्ने घरबाट भगवान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुप तथा लाखे लाखेनीमा युवा र बालबालिकालाई सिंगारेर भजन, रामायाण गाउँदै दिवंगत आत्माको शान्तीको कामना गर्दै टोल छरछिमेक हुँदै स्थानीय छहरे बजार घुमाइएको थियो।
यता शिवपुरी गाउँपालिकाको थानापतिका नेवार सम्प्रदायले पनि गाईजात्रा निकालेका थिए। थानापतिको जनज्ञान विद्यालय हुँदै छहरे बजारमा गएर नृत्य तथा झाकीसहित प्रहसन प्रस्तुत गरिएको थियोे।
राजा प्रताप मल्लले शोकमा परेकी रानीलाई अनेक कोशिस गर्दा समेत सम्झाउन नसकेपछि तिमी लाई जस्तो पीडा जनतालाई पनि परेको छ भनी बुझाउन र वर्षभरीमा आफ्नो राज्यमा मृत्यु भएका जनताको बारे सूचना प्राप्त गर्नका लागि मृतकको घरबाट गाईजात्रा निकाल्ने परम्परा रहिआएको हो।