आइपुग्यो थप २ लाख डोज एस्ट्राजेनेका खोप



सोमवार थप ५ लाख आउने

काठमाडौं,भदौ ६ । नेपालमा थप २ लाख एस्ट्राजेनेका खोप आइपुगेको छ । जापानले कोभ्याक्सअन्तर्गत दिएको १६ लाखमध्ये २ लाख ८ हजार ७०० डोज खोप शनिवार बिहान आइपुगेको नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि गत साउन २३ र २४ गते (दुई दिनमा) ९ लाख डोज खोप नेपाल आएको थियो । उक्त खोप कोभिसिल्डको दोस्रो मात्राको रूपमा २५ वर्षमाथिका नागरिकलाई लगाइएको छ । एस्ट्राजेनेका र कोभिसिल्ड फरक ठाउँमा उत्पादन गरिएको एकै प्रकृतिको खोप भएकाले मन्त्रालयले कोभिसिल्डको विकल्पको रूपमा लगाइरहेको छ । भारतीय कम्पनी सेरम इन्स्टिच्युट प्रालिले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग सहकार्य गरी कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । सरकारले गतवर्ष माघ १४ गतेदेखि भारतले उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोपबाट खोप अभियान शुरू गरेको थियो । पछि नेपालले फागुन ९ गते २० लाख खोप खरीद गरेको पनि हालसम्म १० लाख खोप मात्र उपलब्ध गराइएको छ । भारतबाट खोप नआउने पक्का भएपछि मन्त्रालयले गत जेठ तेस्रो साता नै कोभिसिल्डको विकल्पमा एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो । खोप व्यवस्थापन महाशाखाका प्रमुख झलक शर्मा गौतमले जापानले दिने भनेको १६ लाखमध्ये ११ लाख खोप नेपाल आइसकेको र बाँकी करीब ५ लाख खोप सोमवार नेपाल आउने बताए । नयाँ खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो खोप लगाएकालाई दिइने भएको छ ।

मन्त्रालयका अनुसार शनिवारसम्ममा ४९ लाख ३५ हजार ५६ लाई पहिलो मात्रा र ३८ लाख ३५ हजार ६०८ लाई दोस्रो मात्रा समेत गरी कुल ८७ लाख ७० हजार ६६४ लाई कोभिडविरुद्धको खोप लगाइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्