झोरमा आज शनिबार ६ सय जनालाई खोप लगाउने तयारी
काठमाडौं,भदौ ५ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा आज शनिबार ६ सय जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने तयारी गरिएको छ। यसअघि हिजो शुक्रबार वडा नम्बर १ का २ सय ७२ जना नागरिकले कोरोना खोप लगाएका थिए ।
शुक्रबारदेखि सुरु भएको खोप कार्यक्रममा मात्र १८ वर्ष माथि उमेर समूहका नागरिकमध्ये १ सय ३५ जना महिला र १ सय ३७ जना पुरुषले पहिलो मात्राको भेरोसेल खोप लगाइएको झोर स्वास्थ्य चौकीका प्रमुख पवनकुमार शाहले जानकारी दिए ।
झोरमा संचालित खोप कार्यक्रममा मात्र ५ सय ९५ जनाले हालसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । झोरमा कोभिडसिल्ड लगाउने ३६ जनाले एस्ट्राजेनेका लगाउदै पूर्ण खोप पूरा गरेका छन् यद्यपि वडा क्षेत्र बाहिर संचालित खोप कार्यक्रममा सहभागीको तथ्यांक भने यस्मा समावेश नगरिएको स्वास्थ्य शाखाले जनाएको छ।
आजको खोप कार्यक्रमका लागि वौडेश्वर माध्यमिक विद्यालय प्राङ्गणमा बिहान ८ बजेदेखि कुपन वितरण गरिनेछ। स्वास्थ्य मापदण्ड अपनाई १८ वर्ष माथि उमेर समूहका खोप नलगाएका नागरिकलाई उपस्थित हुन वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले अनुरोध गरेका छन् ।