झोरमा शुक्रबार २७२ जनाले लगाए कोरोना खोप, शनिबार ६ सय जनालाई लगाइने



काठमाडौं,भदौ ४ । टोखा नगरपालिका वडा नम्बर १ का २ सय ७२ जना नागरिकले कोरोना खोप लगाएका छन् । शुक्रबार मात्र १८ वर्ष माथि उमेर समूहका नागरिकलाई सो संख्यामा खोप लगाइएको झोर स्वास्थ्य चौकीका प्रमुख पवनकुमार शाहले बताए। जसअन्तर्गत १ सय ३५ जना महिला र १ सय ३७ जना पुरुषले पहिलो मात्राको भेरोसेल खोप लगाएका हुन।

त्यस्तै झोरमा संचालित खोप कार्यक्रममा मात्र ५ सय ९५ जनाले हालसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य चौकीले जनाएको छ। झोरमा कोभिडसिल्ड लगाउने ३६ जनाले एस्ट्राजेनेका लगाउदै पूर्ण खोप पूरा गरेका छन् यद्यपि वडा क्षेत्र बाहिर संचालित खोप कार्यक्रममा सहभागीको तथ्यांक भने यस्मा समावेश नगरिएको स्वास्थ्य शाखाले जनाएको छ।

झोर स्वास्थ्य चौकीले शनिबार पनि खोप सञ्चालन गर्ने भएको छ। शनिबार ६०० जनालाई खोप लगाउने तयारी गरेको स्वास्थ्य चौकीका प्रमुख शाहले बताए। वौडेश्वर माध्यमिक विद्यालय प्राङ्गणमा हुने खोप कार्यक्रममा बिहान ८ बजेदेखि कुपन वितरण गरिनेछ। स्वास्थ्य मापदण्ड अपनाई १८ वर्ष माथि उमेर समूहका खोप नलगाएका नागरिकलाई उपस्थित हुन वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले अनुरोध गरेका छन् ।

तस्बिर श्रोत:वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्