बोरा उद्योगको उत्पादन ८० प्रतिशत मात्र
काठमाडौं,भदौ २ । कोरोना महामारीका कारण कच्चा पदार्थको अभावका भएसँगै उत्पादन घटेको बोरा उद्योगको उत्पादन हालसम्म पनि करीब ८० प्रतिशत मात्र रहेको उद्योगीहरूले बताएका छन् । अहिले कच्चा पदार्थको अभाव नरहे पनि दक्ष कामदारको अभाव र बजारमा खपत घट्नुजस्ता कारणले उद्योगहरूले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेका हुन् ।
नेपालमा प्लाष्टिक, जुट र कपडाका बोरा तथा त्रिपाल उत्पादन गर्ने दुइ दर्जन जति उद्योगहरू छन् । ती उद्योगले नेपालभरि रहेका सम्पूर्ण खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्छन् । दक्ष कामदारको अभावका कारण ती उद्योगहरू ८० प्रतिशत क्षमतामा मात्र चल्न बाध्य भएको विराटनगरको पशुपति सिल प्याक उद्योगका प्रोप्राइटर सुदीप जैसवालले आर्थिक अभियान दैनिकलाई बताए ।
उनका अनुसार यस्ता उद्योगहरूमा काम गर्ने धेरैजसो श्रमिकहरू भारतबाट नेपाल आउने गर्छन् । महामारीका कारण श्रमिकहरूमा त्रास छाएकाले अधिकांश भारतीय र नेपाली श्रमिकहरू समेत काममा पर्किएका छैनन् जसले गर्दा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
त्यसैगरी बोरा र त्रिपालको खपत घट्दा उद्योगहरूलाई झनै समस्या भइरहेको बताइएको छ । शिवम् प्लास्टिक उद्योगका सञ्चालक निखिल तोदीका अनुसार खाद्यान्नदेखि सिमेन्ट उद्योगहरू समेत पूर्ण क्षमतामा नचलेर उत्पाादन घटेका कारण बोरा र त्रिपालको खपत घटेको हो । नेपालमा मात्र नभएर भारतीय बजारमा समेत बोराको खपत घट्दा विक्री घटेर करीब ५० प्रतिशतको हाराहारीमा रहेको उनले बताए ।
नेपाली बोरा उद्योगहरूले मासिक वार्षिक रूपमा करीब ६० हजार मेट्रिकटन बोरा उत्पादन गर्ने गर्छन् । त्यसमध्ये ४० प्रतिशत बोरा नेपालको आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ६० प्रतिशत बोरा भारत, बंगलादेश, पाकिस्तान, भुटानलगायत अन्य देशहरूमा निर्यात हुने गर्छ । उत्पादन र खपत दुवै घटेपछि अहिले यी उद्योगहरूको निर्यात बजार पनि अस्तव्यस्त जस्तै बनेको छ ।
बोराको मूल्य दुई गुना बढ्यो
महामारीका कारण बोरा उत्पादन गर्ने कच्चा पर्दाथको मूल्य र श्रमिकको ज्यालादर बढेका कारण प्लास्टिक, जुट र कपडाका बोरा र त्रिपाललगायत यसबाट बन्ने अन्य उत्पादनको समेत मूल्य गतवर्षको भन्दा यस वर्ष २ गुनाले बढेको छ ।
यस वर्ष यस्ता वस्तुको उत्पादन लागत २५ प्रतिशतसम्म बढेको उद्योगीहरूको भनाइ छ । यसअघि सामान्य अवस्थामा सिमेन्ट राख्ने एउटा बोराको मूल्य भ्याटसहित १३ रुपैयाँ पर्ने गरेकोमा अहिले २६ रुपैयाँसम्म पर्न थालेको उद्योगीहरू बताउँछन् । आर्थिक अभियानबाट