ह्वात्तै घट्यो तरकारीको मूल्य
काठमाडौं,साउन ३१। हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।
गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ ।
यसरी मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोडीको मूल्य करीब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी भिन्डीको मूल्य पनि करीब १ सय ३० प्रतिशतले घटेर प्रतिकिलो ५५ रुपैयाँबाट २४ रुपैयाँ कायम भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार निषेधाज्ञाका बेलामा भन्दा अहिले कालीमाटीमा तरकारीको अयात करीब दोब्बरले बढेको छ । आयात बढी र खपत कम भएकाले मूल्यमा गिरावट आएको उनले आर्थिक अभियान दैनिकलाई बताए । अहिले हरियो तरकारीको खपत बढी हुने होटेल, रेस्टुराँ, पार्टी प्यालेसलगायत स्थानहरू बन्द भएकाले पनि खपत घटेको उनले जानकारी दिए ।
समितिको दैनिक तरकारी आगमनको सूचीअनुसार यसअघि निषेधाज्ञाका समयमा दैनिक ३ सयदेखि ४ सय मेट्रिकटन तरकारी आगमन हुने गरेकोमा हाल यो परिमाण बढेर करीब ७ सयदेखि ८ सय मेट्रिकटन तरकारीको आगमन हुने गरेको छ । काठमाडौंमा तरकारी आपूर्ति हुने मुख्य आपूर्ति केन्द्रहरू धादिङ, नुवाकोट, चितवन, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा यति बेला तरकारीको उत्पादन बढेकाले भारतीय तरकारीको आयात पनि घटेको समितिले बताएको छ । समितिका अनुसार हाल कालीमाटीमा भित्रिने कुल तरकारीको परिमाणमध्ये करीब १० प्रतिशत तरकारी मात्रै भारतबाट आयात हुने गरेको छ । आर्थिक अभियानबाट