पाल्पामा स्याललाई हानेको गोली छोरालाई लाग्यो, घटनास्थलमै छोराको मृत्यु
पाल्पा,साउन ३० । पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर छोराको मृत्यु भएको छ ।
रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले शुक्रबार बेलुकी ६ बजे मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३५ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो।
गोली लागेर धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो।भरुवा बन्दुकबाट निस्केको गोली घरबाट करिब सय मिटर टाढा रहेका धनबहादुरको टाउकोमा लागेको थियो। गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।