नुवाकोट शिवपुरीमा अत्याधुनिक सुविधासहित अस्पताल संचालनमा



नुवाकोट,साउन २९ । शिवपुरी गाउँपालिकामा अत्याधुनिक मेसिनसहित अस्पताल सञ्चालनमा आएको छ। शुक्रबार गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सो शिवपुरी आधारभूत अस्पतालको औपचारिक उद्घाटन गरेका हुन। गाउँपालिकाका अध्यक्ष थापाको एक्सरे तथा भिडियो एक्सरे गर्दै उक्त स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो।

राजधानीदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकामा भौगोलिक विकटताका कारण स्थानीय नागरिकलाई स्वास्थ्य उपचारार्थ उपत्यका ओहोरदोहोर गर्न समेत कठिनाइ भैरहेको बेला गाउँपालिकामा नै विविध सुविधासहित आधारभूत अस्पताल सञ्चालमा आएपछि स्थानीय नागरिक हर्षित बनेका छन् । गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय तह खडा पश्चात् गाउँपालिकाले शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको बताए । साझापथसंग कुराकानी गर्दै अध्यक्ष थापाले भने- ‘मेरो आज ठुलो सपना पूरा भएको छ। यो स्वास्थ्य केन्द्र मेडिकल सुपरिटेन्डेन्टसहितको स्वास्थ्यकर्मीहरु भएकाले नागरिकलाई सामान्य एक्सरे तथा भिडियो एक्सरेका लागि काठमाडौ वा त्रिशुली जानुपर्ने बाध्यता समेत अन्त्य भएको छ।’

कोरोना महामारीका समयमा समेत नुवाकोट जिल्ला तहकै सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाले अस्पताल सञ्चालनसंगै स्वास्थ्य सेवामा थप फड्को मार्नेमा आफू ढुक्क रहेको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब कार्कीले बताए । स्थानीय शिवप्रसाद पोखरेल र दलबहादुर कार्कीबाट प्राप्त १३ आना जग्गा क्षेत्रफलमा नयाँ अस्पताल निर्माण भएको हो। नवनिर्मित भवनमा १२ वटा कोठा रहेको छ यद्यपि भवनको माथिल्लो तला भने फिनिसिङको चरणमा रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकामा हाल मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब असिस्टेन्ट,रेडियो ग्राफरसहित १२ जना स्वास्थ्यकर्मी रहेका छन् । डिजिटल एक्सरे, भिडियो एक्सरे ल्याब सहितको अस्पताल सञ्चालनको लागि गाउँपालिकाले आवश्यक जनशक्ति समेत तयारी गरेको छ। जस अन्तर्गत हालै बिज्ञापन गरि गाउँपालिकाले रेडियो ग्राफर बबिता वाग्लेलाई नियुक्त गरिसकेको छ।

शिवपुरीमा स्वास्थ्य क्षेत्र उल्लेख्य प्रगति

राजधानी काठमाडौसंगै जोडिएको भएपनि शिवपुरी गाउँपालिका भौगोलिक भूबनोटका कारण उन्नतिका प्रयासका बाबजुद समस्याका बीच अगाडि बढिरहेको गाउँपालिका हो। यद्यपि गाउँपालिकाले अन्य क्षेत्रसंगै स्वास्थ्य क्षेत्रमा समेत उन्नतिका खुड्किलाका साथ अगाडि बढेको अनुमान गर्न सकिन्छ। पछिल्लो वर्ष यता शिवपुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति र सफलता हात लगाएको देखिन्छ।

गाउँपालिकाको प्रगति विवरणका आधारमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पुष्टि हुने स्थानीयहरु बताउँछन् । पछिल्लो तथ्यांक हेर्दा स्वास्थ्यका शसर्तको ८०% कार्यक्रम हरु सम्पन्न भएको पाइन्छ। झनै महामारीको रोकथाम नियन्त्रणमा आफ्नै गाउँपालिकाको बजेटमा एमबीबीएस डाक्टरसहितको २०बेड आईसोलेसन बिरामी र कुरुवा लाई समेत खाना खाजा सहितको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

त्यस्तै गाउँपालिकामा अनुभवी स्वास्थ्यकर्मी उद्धब कार्कीको संयोजकत्वमा स्वास्थ्य शाखा स्थापना पश्चात् नागरिक स्वास्थ्य चेकजाँच तथा परामर्शका कार्यक्रमले समेत अधिक निरन्तरता प्राप्त गरेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय ग्रामिण भिडियो एक्स रे (गर्भवतीको लागी) मेसिन तथा तालिम दिई वडा नम्बर १ बाट शुरुवात गर्दै सबै वडामा महिनामा १ पटक नि:शुल्क चेकजाँचको ब्यवस्थापन गरिएको छ।टीटी खोप सबै स्वास्थ्य संस्थाबाट निशुल्क त्यस्तै रेबिज सुई आधारभुत अस्पतालमा समेत नि:शुल्क गरिएको छ।

विगतका दिन स्मरण गर्द गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण कडी पार गरेको अनुभूत गर्न सकिन्छ। हाल स्वास्थ्य इकाई भवन १२ कोठे निर्माणको अन्तिम चरणमा पुगेको छ भने तल्लो तलामा अस्पताल सञ्चालनमा समेत आइसकेको छ। जस्मा नयाँ एम्बुलेन्ससहित स्वास्थ्य सामग्री (एक्सरे, भिडियो एक्सरे, ल्याब, ईसिजी लगायतका सबै मेसिन हरु खरिद गरी यसै आर्थिक वर्षदेखि नयाॅ भवनबाट सेवा सुरु भएको हो । स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार वडा नम्बर ५ र ६ मा नयाॅ बर्थिड सेन्टर स्थापना समेत सम्पन्न भैसकेको छ।

त्यस्तै शिवपुरीको ७ र ८ वडामा २४ सै घण्टा सुत्केरी सेवा कार्यक्रम अगाडि बढाइएको छ। कोभिडको सन्दर्भमा गाउँपालिकले कोभिड -१९ भएकाहरुलाई पोषण खर्च बापत रु ३०००दिदै आएको र श्रावण देखि ५०००/- दिने गाउँपालिकाको योजना छ । कोभिड -१९ पोजेटिभ भएका तर बिमा नभएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई २५ हजार एकमुष्ट दिने कार्यक्रम समेत गाउँपालिकाको रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्