लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त



रुपन्देही,साउन २८ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री केसीको आजै ४ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका उपसचिव चिरञ्जीवि पौडेलले बताउनुभयो ।

केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुनुहुन्छ। गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ।

यसअघि एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको थियो । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्